Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता

2081-09-17

2081-09-17


१. नागरिकता भनेको के हो?

  • राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापीत गरी अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता हो। यो राज्य र नागरिकबिचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ। नागरिकता राजनीतिक समुदायको सदस्यता हो। नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था हो।

२. नेपालमा हाल कुन कुन प्रकारको नागरिकता वितरण गरिन्छ ?

नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ बमोजिम नेपालमा हाल देहाय बमोजिमका नेपाली नागरिकताको प्रमाणपत्रहरू वितरण गर्ने व्यवस्था रहेको छः

  •     वंशजको आधारमा नेपाली नागरिकता
  •     अंगीकृत नेपाली नागरिकता (वैवाहिक अंगीकृत नेपाली नागरिकता सहित)
  •     गैर आवासीय नेपाली नागरिकता
  •     सम्मानार्थ नेपाली नागरिकता

३. कस्तो व्यक्तिले वंशजको नाताले नेपालको नागरिकता प्राप्त गर्न सक्छन् ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ बमोजिम देहायका व्यक्तिले वंशजको नाताले नेपालको नागरिकता प्राप्त गर्न सक्छन्ः

(१) कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा दफा (५) को उपदफा (२) बमोजिम हुनेछ ।

(३) नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ ।

४. अंगीकृत नेपाली नागरिकता कस्तो व्यक्तिले प्राप्त गर्न सक्दछन् ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ मा व्यवस्था भएबमोजिम देहायबमोजिमका व्यक्तिहरूले अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्दछन्ः

  •     नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिला
  •     विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरी (निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास  गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने)
  •     विज्ञान, दर्शनशास्त्र, कला, साहित्य, विश्वशान्ति, मानव कल्याण वा नेपालको औद्योगिक, आर्थिक वा सामाजिक उन्नतिमा विशेष योगदान पुर्‍याएको वा पुर्‍याउन सक्ने भनी मनासिब आधारमा नेपाल सरकारले उचित ठहर्‍याएको व्यक्ति
  •     अंगीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेका सन्तान

५. के मैले जन्मको आधारमा नागरिकता पाउन सक्छु ?

  • नेपालको संविधान जारी हुनुपूर्व जन्मको आधारमा नेपाली नागरिकता वितरण हुन्थ्यो । वर्तमान संविधानमा जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेसम्बन्धी व्यवस्था छैन ।

६. नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण फरक परेमा सच्याउने सम्बन्धमा के कस्तो व्यवस्था छ ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा १७ मा नेपाली नागरिकताको प्रमाणपत्रमा संशोधन गर्नेसम्बन्धी निम्नानुसारको व्यवस्था गरेको छः

(१) कनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपामा उल्लिखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गई वा नागरिकताको प्रमाणपत्रामा सानातिना त्रुटी भई सो विवरण सच्याउन चाहेमा आवश्यक प्रमाणसहित तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।

स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि “सानातिना त्रुटी” भन्नाले नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरणमा तात्विक अन्तर नपर्ने जस्तैः “कुमारी”, “देवी”, “बहादुर', “प्रसाद" जस्ता शब्द बढी राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेको वा यस्तै अन्य सानातिना त्रुटीलाई जनाउनेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन परेपछि सम्बन्धित अधिकारीले निजसँग भएको सबुत प्रमाण र आवश्यकताअनुसार साक्षी सरजमिन समेत बुझी त्यस्तो विवरण सच्याई पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ ।

(३) विवाह वा सम्बन्ध विच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गर्न निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची थर, वतन वा विवरण संशोधन गरी अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ ।

७. दलित जातिका नागरिकहरूको थर संशोधन गर्न के गर्नुपर्दछ ?

  • समाजमा अझै विद्यमान रहेको जातिगत संकिर्णताले गर्दा जातीय आधारमा आफूलाई हिनताबोध हुने एवं संकिर्णता जनाउने थर भएका व्यक्तिले बाबुको भन्दा फरक थर राखी नागरिकता प्रमाणपत्र माग गरेमा छानवीन गरी व्यहोरा मनासिब देखिएमा नागरिकताको प्रमाणपत्रमा नयाँ थर राखी वा थर सच्याई नागरिकताको प्रमाणपत्र दिने व्यवस्था छ । जसको लागि थर संशोधन गर्ने व्यक्तिले स्थानीय तहको सिफारिस साथै राखी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्ने साधिकार निकायमा संशोधन सहितको प्रतिलिपी नागरिकताको लागि निवेदन दिनुपर्दछ ।

८. झुठ्ठा विवरण पेश गरी नागरिकता लिएमा वा दोहोरो वा तेहोरो नागरिकता लिएमा के हुन्छ ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ मा कुनै नेपाली नागरिकले झुठ्ठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ । भन्ने व्यवस्था छ भने ऐ.को दफा १३ मा कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन । भन्ने व्यवस्था छ । त्यस्तै ऐ. को दफा १४ मा कुनै विदेशी व्यक्तिले झुठ्ठो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ । भन्ने व्यवस्था छ ।

ऐ. ऐनको दफा २१ मा झुठ्ठा विवरण पेश गरी नेपाली नेपाली नागरिकताको प्रमाणपत्र लिएमा वा दोहोरो वा तेहोरो नागरिकता लिएमा देहायबमोजिम सजायको व्यवस्था गरिएको छः

(१) कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।

(२) कनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(३) कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(४) कसैले सक्कल नागरिकताको प्रमाणपत्रमा भएको विवरणमा आफूखुशी थपघट गरेमा वा सच्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(५) दफा १२ बमोजिम झुठो विवरण दिई नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा वा दफा १७ बमोजिम सच्याइएको विवरण झुठो प्रमाणित भएमा त्यस्तो झुठो विवरण दिने व्यक्तिलाई वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप अन्य कुनै कसूर गर्ने गराउने व्यक्तिलाई पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

(६) नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानी-जानी वा बदनीयत राखी यस ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विपरीत हुने गरी नागरिकताको प्रमाणपत्र दिएमा वा नागरिकताको प्रमाणपत्रको विवरण सच्याएमा त्यस्तो पदाधिकारी वा कर्मचारी उपर प्रचलित कानुन बमोजिम विभागीय कारवाही हुनेछ ।

(७) उपदफा (१), (२) र (३) अन्तर्गत सजाय हुने कसूर गर्न उद्योग गर्ने वा मद्दत गर्ने व्यक्तिलाई सोही उपदफामा तोकिएको सजायको आधा सजाय हुनेछ ।

९. के नागरिकताको प्रमाणपत्र प्राप्त गर्न दस्तुर तिर्नुपर्दछ ?

  • नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न कुनै पनि दस्तुर तिर्नुपर्दैन ।

१०. नागरिकता प्राप्त गर्ने व्यक्तिले पालना गर्नुपर्ने शर्तहरू के के हुन् ?

नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ को दफा ६२ बमोजिम नागरिकता प्राप्त गर्ने व्यक्तिले पालना गर्नुपर्ने शर्तहरू देहायबमोजिम छन्ः

१. तोकिएको ढाँचामा पूरा विवरण भरी निवेदन दिनुपर्नेछ ।

२. निवेदनसाथ तोकिएबमोजिमका प्रमाणहरू पेश गर्नुपर्नेछ ।

३. निवेदन नेपाली नागरिकले मात्र दिन सक्नेछन् ।

४. निवेदकको नाम, थर, जात, बाबुको नाम, ठेगाना, राष्ट्रियताको विवरण गलत दिनुहुँदैन । ठीक साँचो हुनुपर्नेछ ।

११. के आमा बाबुको ठेगान नभएका व्यक्तिले नेपाली नागरिकता प्राप्त गर्न सक्छन् ?

  • नेपालको संविधानको धारा ११(४) मा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ । भन्ने व्यवस्था रहेको छ भने ऐ.को धारा ११(५) मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानूनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ । भन्ने व्यवस्था छ ।

१२. के आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्न सम्भव छ ?

  • नेपालको संविधानको धारा १२ मा यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ । भन्ने व्यवस्था रहेको हुँदा आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सम्भव छ ।
  •  

 

पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .